गण्डकी प्रदेशका वनमन्त्री मनाङेले दिए राजीनामा

मुख्यमन्त्री पाण्डेद्वारा मनाङेको राजीनामा आज (सोमबार) नै स्वीकृत

जनसम्मत
भाद्र १७, २०८१, सोमबार

गण्डकीका वनमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले पदबाट राजीनामा दिएका छन्।

काँग्रेस–एमालेको भागबण्डामा प्रदेशको मन्त्रीमण्डल हेरफेर भएपछि मनाङेले वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हुन्।

सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि मनाङेले असन्तुष्ट बन्दै सो वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हु्न्।

मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्रीकहाँ राजीनामा पत्र पठाएका हुन्।

यसअघि, मनाङेले सम्हालेको भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेका प्रकाशबहादुर केसीलाई जिम्मा दिइएको छ।

सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भएपनि मनाङे बन मन्त्रीको कार्यभार सम्हाल्न मन्त्रालय भने गएनन्।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएको मनाङेले बताए।

मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा आजै (सोमबार) स्वीकृत गरेका छन्।

राजीनामा स्वीकृत गरेर मुख्यमन्त्री पाण्डेले उक्त मन्त्रालय तत्काललाई आफैँसँग राखेका छन्।