पलेशालाई नेपाल सरकारले ६५ लाखको पुरस्कार दिदैं

‘राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार ठूलो धन राशिको पुरस्कार जित्ने नेपाली खेलाडीमध्ये पलेशा पहिलो खेलाडी बनिन्’

जनसम्मत
भाद्र १५, २०८१, शनिबार

पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाल सरकारबाट ठूलो राशिको पुरस्कार मिल्दैछ।

पलेशालाई नेपाल सरकारले ६५ लाखको रुपैयाँ पुरस्कार दिदैंछ।

पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्।

उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

यही व्यवस्थाअनुरूप पलेशा ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्न सफल बनेकी हुन्।

यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी पनि बन्दै छिन्।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।