संचारमन्त्रीहरु बोलेरै विवादमा पर्छन्

‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’ सार्वजनिक अभिव्यक्ति दिएपछि संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा परेका छन्

जनसम्मत
भाद्र १८, २०८१, मंगलवार

केपी ओली नेतृत्वको संचारमन्त्रीहरु बोलेरै विवादमा पर्ने गरेका छन्।

गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा यस्तै देखिन्छ।

सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्।

प्रधानमन्त्री ओलीले संचारमन्त्री गुरुङलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्।

संचारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’ समेत गरिसकेका छन्।

संचारमन्त्री गुरूङको उक्त अभिव्यक्तिले समाज र राजनीतिमा तरंग पैदा गरेको छ।

विभिन्न प्रतिक्रिया आउन थालेको छ।

नेपाली काँग्रेसका नेता शंकर भण्डारीले संचारमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्।

उनले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिने संचारमन्त्री गुरूङलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन्।

त्यसैगरी, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक (आइजीपी) लाई प्रयोग गरेको भाषालाई लिएर संसद्मासमेत सत्तारूढ दलकै सांसदले विरोध गरेका छन्।

आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा ’ब्रेक’ लगाएर बोल्न आग्रह गरे।

यस विषयमा मन्त्री गुरुङले संसद्मा जवाफ दिनुपर्ने पनि खतिवडाको माग छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संचारमन्त्री गुरुङले दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरीत भएको बताएका छन्।

उनले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई सभ्यता सिकाउन प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन्।

ओली सरकारका संचारमन्त्री गुरूङ मात्र होइन यसअघिका संचारमन्त्री बाँस्कोटा पनि बोली कै कारण विवादमा परेका थिए।

७० करोडको ‘टेप काण्ड’ मा कर्मचारीमाथि तल्लोस्तरको शब्द प्रयोग गरेपछि तत्कालीन संचारमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिन बाध्य भएका थिए।

अहिलेका संचारमन्त्री गुरूङको पनि उस्तै हाल देखिन्छ।

 

स्वास्थ्य लाइभ डट कम र उज्यालो अनलाइन डट कममा समाचार छ ।