‘मिडियाको दुरूपयोग नगरौ’

प्रेस काउन्सिल अध्यक्ष भन्छन्, ‘गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै आएको छ’

जनसम्मत
भाद्र २१, २०८१, शुक्रबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्।

अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै आएकाले मिडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन्।

‘आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन्। समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्’, बस्नेतले थपे।

यस्तै, उनले योजनावद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरूपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको बताए।

उनले स्वतन्त्रताको दुरूपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफै खुम्चिने समेत बताए।

‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ।

त्यसरी, परिचालित हुनु प्रेस स्वतन्त्रताको गंभीर उल्लंघन हो। यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ’, बस्नेतल भने।

प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर वर्गीकरण गरेको छ।

विनादर्ता संचालनमा रहेका र आपत्तिजनक तथा गैरजिम्मेवार सञ्जाललाई काउन्सिलले अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ।

पछिल्लो ३ महिनायता ४९ वटा विभिन्न युट्युब च्यानल काउन्सिलको कारबाहीमा परेका छन्।

अभिमुखीकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता तथा अनुगमन अधिकृत महेन्द्र सिंहले संचार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखे।

काउन्सिलले २ वर्षयता अनलाइन संचारमाध्यमलाई आचारसंहिता पालनामा केन्द्रीत गराउन अभिमुखीकरण कक्षालाई अनिवार्य गराएको छ।

साथै, संचारमाध्यमका रूपमा चल्ने युट्युब च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाएर लागू गरेको छ।