स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ।
केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो।
गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो।
तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो।
चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ।
स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्दै जाने हो भने यहाँको पर्यटक अन्तै डाईभर्ट हुने खतरा रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
‘पदयात्रा पर्यटन हुने १३ वटा पालिकाहरु छन्’, उनले भने, ‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटकहरु आउँदैनन्। यहाँ आउने पर्यटकहरु अन्तै डाईभर्ट हुने खतरा हुन्छ।’
१३ वटा गाउँपालिकाले १÷१ हजार तथा टिम्सवापत ५ हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने टान गण्डकीको बुझाई रहेको उनले बताए।
पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताए।
यसले गर्दा आउने मुड बनाएका पर्यटकपनि नआउने उनको भनाई छ।
उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको टिप्पणी गरे।
टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, ‘निर्णय सच्चिनु पर्छ। यदि सच्चिएन भने यसले पर्यटनमा नराम्रो धक्का दिन्छ।’
पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन् खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने भन्दै उनले निर्णय तत्काल सच्याउन आग्रह गरे।
यसैबीच, टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिनि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितको टोलीले सोमबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवद्र्धनमा जोड दिन आग्रह गरिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए।
उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आश्वासन दिए।
‘कोभिडका कारण व्यवसाय गिर्दो अवस्थामा छ’, उनले भने, ‘यस्तो बेला पर्यटनमा सपोर्ट गर्ने कार्यक्रम ल्याउनुको सट्टा झन् समस्या पर्ने निर्णय गर्नु ठीक होईन। अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होइन। यसमा मेरो ध्यानाकर्षण भयो। म बुझेर सच्याउन पहल गर्नेछु।’