गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार भण्डारीले लिइन् शपथ

भण्डारीले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्

जनसम्मत
भाद्र ३१, २०८१, सोमबार

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त गरेको हो।

भण्डारीले महासंघ कास्कीमा भने कार्यवाहक जिम्मेवारी दिइसकेकी छन्।

प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाको दरखास्त परेको थियो।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले उम्मेदवारको कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता लिइसकेपछि छनोटका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

छनोट समिति सदस्यको विज्ञ सदस्यको रुपमा पत्रकार रवीन्द्र बास्तोला र सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल थिए।

गण्डकी प्रदेश आमसंचार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ।

प्रेस रजिस्ट्रारले प्रदेशमा आमसंचारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ।