संचार मन्त्रालयलाई दोस्रो हुने छुट छैन

संचार मन्त्री गुरुङ जोड दिन्छन्, ‘संचार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्छ’

जनसम्मत
भाद्र ३०, २०८१, आइतबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्।

उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ।

उनले हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर ‘टप अफ द टेबल’ हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘काममा इमान्दारितापूर्वक लाग्नुस। सबै मिलेर काम गर्दा असफल भइँदैन।’

काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने उनले स्पष्ट पारे।

इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने उनको भनाई थियो।

संचार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीसँग २२ मन्त्रालय छ, प्रधानमन्त्री कार्यालयसहितको। यो प्रतिस्पर्धा पनि हो। त्यसैले हाम्रो मन्त्रालय यि सबै मन्त्रालयहरुमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन। हामी पहिलो नै हुनुपर्छ। हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर ‘टप अफ द टेबल’ हुनुपर्छ, यो उपलब्धि हाँसिल गर्नेकुरामा। त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु। यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो। हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो। किन भनिरहेको छु भने, ममा पनि एउटा आत्मविश्वास छ। म यो काम गरेर देखाउँछु भन्ने। म मा आत्मविश्वास तपाईंहरुको अनुहार हेरेर पलाएको हो। तपाईंहरुमा मेरो त्यो विश्वास छ। म एक्लैले गर्न सक्दिन। तपाईंहरुको सबैको सहयोग भयो भने हामी गर्न सक्छौँ। प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरुले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो। यो फलानोको हो, यसको जसरी पनि बिरोध गर्नुपर्छ भनेर हुँदैन। इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ। सुझाव राख्नका लागि जहिल्यै आउनुस्। कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन। यो कुराबाट मुक्त भएर काम गरौँ। अरु मन्त्रालयलाई पनि सन्देश दिऔँ न, संचार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस्।’

मन्त्री गुरुङले दक्षिण एशियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबीसमेत गरेका छन्।

मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच संचारमन्त्री गुरुङ र संचारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको हो।

त्यसैगरी, संचारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो।

संचारसचिव र मन्त्रालयको संचार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख अनिलकुमार दत्त, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुख गौरव गिरी, प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारीबीच कार्यसम्पादन सम्झौता भएको हो।

हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे, मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठबीच पनि कार्यसम्पादन सम्झौता भएको छ।

त्यस्तै, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमरध्वज लामा, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष सीमरजंग शाह, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्का, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी (दिनेशराज दाहाल), नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)बीच पनि कार्यसम्पादन सम्झौता भएको छ।