गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परिक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन्।
‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो। यसलाई प्रभावकारी बनाउन आवश्यक छ। शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ’, उनले भने।
मन्त्री थापाले तथ्यांकको विश्वसनीयतामा शंका नआउने गरी यथार्थपरक तथ्यांक उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याए।
उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे।
घोकन्ते विद्या भन्दापनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको उनको भनाई छ।
फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले उल्लेख गरे।
‘फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै’ अभिभावक शिक्षालगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन्।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिबारे ध्यान दिन आवश्यक रहेको औंल्याए।
जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने उनको भनाई छ।
सही तथ्यांकको आवश्यकतालाई उनले जोड दिए।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेशस्तरमा शैक्षिक तथ्यांकको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।
उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरी समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे।
लम्सालले मन्त्रालयअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी गराए।
शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा
सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे।
कार्यक्रम असोज १० र ११ गते २ दिनसम्म चल्ने उनले बताए।
कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता छ।