मंसीरको १६ गते स्थानीय तहको उपनिर्वाचन

उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न कार्यातालिका स्वीकृत

जनसम्मत
असाेज २, २०८१, बुधबार

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचनको मिति तोकेको छ।

आगामी मंसीरको १६ गते (आइतबार) का दिन उपनिर्वाचन हुने तय गरेको छ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसीर २ गतेदेखि निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहितको निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ।