एपीएफका निरोजले जिते पर्वतीय दौडको उपाधि

महिलातर्फ नितु तामाङ, यु–१६ तर्फ सागर देवकोटा र पोखरा–२२ को वडास्तरियतर्फ सुजिल परियार विजेता बनेका छन्

जनसम्मत
असाेज १२, २०८१, शनिबार

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन्।

पोखरा–२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा निरोजले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्।

पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए।

पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए।

विजेता निरोजले २५ हजार, उपविजेता रुद्रले १५ हजार र तेश्रो हुने प्रकाशले ७ हजार नगदसहित साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार हात पारे।

विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हँुदै बुद्धपार्कमा पुगेर टुंगिएको थियो।

महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन्।

उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन्।

यु–१६ प्रतिस्पर्धामा पोखरा–२२ का सागर देवकोटा विजेता बने।

पोखरा–२२ को वडास्तरीय दौडमा सुजिल परियार विजता बने।

उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन्।

महिलातर्फकी विजेता नितु, यु–१६ का विजेता सागर र पोखरा–२२ का विजेता सुजिलले जनही ७/७ हजारको साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार हात पारे।