नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सक्रिय भएसँगै कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए

जनसम्मत
असाेज १३, २०८१, आइतबार

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ।

बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा  तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो।

गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए।

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए।

कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए।

२०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं जनआस्थाका सम्पादक किशोर श्रेष्ठ नेपाल पत्रकार महासंघको महासचिव भएका बेला कार्की महासंघको केन्द्रीय उपाध्यक्ष थिए।

समकालीनहरुका अनुसार कार्कीले २०४६ साल र २०६२/0६३ को जनआन्दोलन सफल बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका थिए।

कार्की संविधान सभाका लागि नागरिक अभियानको उपाध्यक्ष भएर संविधान सभा चुनावमार्फत संविधान बनाउनुपर्छ भन्ने आन्दोलनमा पनि क्रियाशील उनका समकालीन हरु बताउँछन्।

पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेलसमेत परेका थिए।

कार्कीले वामपन्थी आन्दोलन र पत्रकारिताका माध्यमबाट समाजको अग्रगामी रुपान्तरणमा खेलेको भूमिका अविस्मरणीय रहेको नागरिक अभियान्ताहरु बताउँछन्।

नेकपा मसालबाट राजनीति सुरु गरेका कार्की संयुक्त जनमोर्चा, एकता केन्द्र हुँदै पछिल्लो समय माओवादी केन्द्र निकट थिए।

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा भाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए।

नेपाल पत्रकार महासंघले महासंघका पूर्वउपसभापति तथा प्रेस स्वतन्त्रता सेनानीसमेत रहेका वरिष्ठ पत्रकार कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ।

महासंघले शोक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ।’

नेपाल पत्रकार महासंघका अनुसार पत्रकार कार्की २०४९ चैत्रदेखि २०५२ जेठसम्म नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापतिको भूमिका निर्वाह थिए।

महासंघको जिल्ला र केन्द्रीय तहको नेतृत्व तथा विभिन्न समितिमा रहेर उल्लेख्य योगदान दिएका पत्रकार कार्कीलाई २०६८ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान गरेको थियो।

यसैगरी, दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति जारी गर्दै संस्थापक सम्पादक कार्कीको निधनले दैनिक लुम्बिनी परिवार स्तब्ध र दुखित भएको उल्लेख गरेका छन्।

उनका १ श्रीमती भगवती, २ छोरी निरु, बन्जु र छोरा सरोज छन्।

कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो।

हेरौं, पत्रकार महासंघको शोक विज्ञप्ति