गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

एयर एम्बुलेन्स व्यवस्थापनदेखि ३ जिल्लामा ट्रमा सेन्टर स्थापनासम्मको योजना

जनसम्मत
असाेज १५, २०८१, मंगलवार

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहितको योजनाहरु सार्वजनिक गरेका छन्।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी ३ कालीन योजना सार्वजनिक गरेका हुन्।

६ पृष्ठमा समेटिएको ३ कालीन योजनामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापनलगायतका योजनालाई समेटिएको छ।

दीर्घकालीन योजनाअन्तर्गत एयर एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने, प्रदेशका मुटु, क्यान्सर र मृगौला रोगको उपचारको लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए।

पाठकले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने, लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्मार्ण गर्ने, धौलागिरि अस्पताल बागलुङ, दमौली अस्पताल तनहुँ र मध्यविन्दु अस्पताल नवलपरासीमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीहरुलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाउने योजनालाई मध्यकालीन योजनामा राखेका छन्।

उनले ६ महिनामा सम्पन्न गर्नेगरी विभिन्न शीर्षकमा ४० वटा योजनालाई समेटेका छन् भने २ वर्षमा पूरा गर्ने गरी ४९ वटा योजनालाई मध्यकालीनमा समेटेका छन्।

करिब ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएका दीर्घकालीन योजना १० वटा रहेको पाठकले बताए।

पत्रकार सम्मेलनमा पाठकले आफूले बनाएको ३ कालीन योजना अन्य प्रदेशका स्वास्थ्य मन्त्रालयको लागि मार्गदर्शन हुने दाबीसमेत गरे।

‘स्वास्थ्य क्षेत्रका समस्या भुईस्तरबाट नै समाधान गर्ने उद्देश्य हो’, उनले भने, ‘उद्देश्य प्राप्तिका लागि ३ कालीन योजना बनाउँदा लक्ष्यमा पुगिन्छ भन्ने विश्वास छ।’

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, महानिर्देशक खिमबहादुर खड्का र डा. रेखा पौडेलले मन्त्रालयबारे बोलेका थिए।

हेरौं, गण्डकी प्रदेश स्वास्थय मन्त्रीका योजना