राससका पत्रकार बासुदेव पौडेल पुरस्कृत

पुरस्कार राशी ५० हजार र सम्मानपत्र छ

जनसम्मत
असाेज १५, २०८१, मंगलवार

राससका क्रियाशील पत्रकार बासुदेव पौडेल ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ बाट पोखरामा पुरस्कृत भएका छन्।

पोखरा वृद्धाश्रमद्वारा पहिलो पटक संचालित सो पुरस्कार रासस गण्डकी प्रदेश प्रमुख पत्रकार पौडेललाई पुरस्कृत गरिएको हो।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा मंगलबार आयोजित समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र प्रदेश सांसद भीमबहादुर कार्कीलगायतले पौडललाई ५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरे।

पत्रकारिता माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको वृद्धाश्रम अध्यक्ष कुशुमकेशव पराजुलीले बताएका छन्।

पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका प्रजातन्त्र सेनानी एवं पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनका धर्मपत्नी लीलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गरेका हुन्।

मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको बताए।

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रबन्ध गर्न र अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताए।

पुरस्कृत व्यक्तित्व पौडेलले सम्मानले आफ्नो पत्रकारिता कर्ममा ऊर्जा थपेको बताए।

उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानून कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे।

कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिनालगायतले बोलेका थिए।