प्राथमिकतामा सूचना प्रविधि हब

संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘सरकारको आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा उल्लेख भएबमोजिम ललितपुरको खुमलटारमा सूचना प्रविधि हब र ज्ञानपार्क स्थापनालाई सरकारले प्राथमिकतामा राखेको छ’

जनसम्मत
असाेज १७, २०८१, बिहीवार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको (बुधबार) उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका हुन्।

‘दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिनु पर्छ र सरकारको नीति तथा कार्यव्रmम पनि त्यही दिशामा अघि बढ्नु पर्छ’, उनले भने।

उनले सरकारको आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा उल्लेख भएबमोजिम ललितपुरको खुमलटारमा सूचना प्रविधि हब र ज्ञानपार्क स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताए।

‘ललितपुरमा स्थापना हुने सूचना प्रविधि हब र ज्ञानपार्क सूचना प्रविधि दशक कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने छन्, सरकार विस्तृत कार्यान्वयन योजना बनाउने प्रव्रिmयामा छ’, मन्त्री गुरुङले भने।

नेपालले डिजिटल पूर्वाधार सुधार गर्न महत्वपूर्ण प्रयास गरेको मन्त्री गुरुङले उल्लेख गरे।

उनले दूरसंचार सञ्जालको विस्तार, मोबाइल उपकरण र इन्टरनेट तथा डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगले संचार र

सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न मद्दत गर्ने दाबी गरे।

मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको मन्त्री गुरुङको भनाई छ।

सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए।

मन्त्री गुरुङलेले मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको, सामाजिक सञ्जाल संचालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयनमा रहेको उल्लेख गरे।

उनले सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोगका लागि सामाजिक सञ्जाल नियमन विधेयक तयार भइरहेको स्पष्ट पारे।

‘मन्त्रालयले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोग र अभ्याससम्बन्धी अवधारणापत्र प्रकाशित गरेको छ’, मन्त्री गुरुङले अगाडि थपे, ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र नागरिक एपको एकीकरण जनतामा ई–सेवाको राम्रो पहुँचका लागि सरकारको उच्च प्राथमिकता रहेको छ।’

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई कसरी अवसरमा बदल्ने भन्ने आजको प्रमुख बहसको विषय रहेको उल्लेख गरे।

युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलाजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा संचारको व्यापकताबारे र सोही संस्थाको स्कुल अफल पब्लिक एड्मिनिस्ट्रेसनका भाइस डिन प्राध्यापक हु जुनले दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकासको महत्वबारे चर्चा गरे।

संगोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरिकालगायतका मुलुकका प्राज्ञिक व्यक्तिहरूको सहभागिता छ।

३ दिनसम्म चल्ने संगोष्ठीमा करिब १ सय वटा विभिन्न विषयको कार्यपत्र प्रस्तुत हुने काठमाडौँ विश्वविद्यालयले जनाएको छ।

गोरखापत्र अनालाइनमा समाचार छ ।

फाइल तस्बीर