२८ मंसीरमा पत्रकार महासंघको निर्वाचन

महासंघको भेलाले यो निर्णय गरेको हो, भेलामा केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वकेन्द्रीय अध्यक्षहरु र जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो

जनसम्मत
असाेज २०, २०८१, आइतबार

नेपाल पत्रकार महासंघले आगामी मंसीर २८ गते ३ वटै तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको राष्ट्रिय भेलाले यो निर्णय गरेको हो।

महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला सुरू भएको थियो।

भेलाको सर्वसम्मतिले आगामी मंसीर २८ गते शुक्रवार महासंघका ३ वटै तहको निर्वाचन गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिएका छन्।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको पुरीले उल्लेख गरेका छन्।

त्यस्तै, सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १/१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए।

उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने निर्णय गरेको छ।

टुंगो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको पुरीले जनाएका छन्।

नेपाल पत्रकार महासंघको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो।