राहत कोषमा एनआरएनएको ५१ लाख सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट ६० लाख, विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट ६ लाख र नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ

जनसम्मत
असाेज २३, २०८१, बुधबार

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रधानमन्त्री राहत उद्धार कोषका लागि ५१ लाख सहयोग गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले भेटेर उक्त रकम हस्तान्तरण गरेको हो।

अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड रुपैयाँबराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए।

उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकोमा संघलाई धन्यवाद दिए।
एक पटकको नेपाली सधैँको नेपाली हुने भएपनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

दोहोरो नागरिकता समस्याको समाधानका लागि गंभीर छलफल आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गरे।

कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न उनको आग्रह थियो।

उनले संघलाई राजनीतिक आधारमा नभई सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुझाव दिए।

यसैगरी, आजै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ६० लाख, विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट ६ लाख ४६ हजार ५ सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख रुपैयाँ कोषमा हस्तान्तरण भएको छ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय