महिला साफ च्याम्पियनसीपमा भारतको विजयी सुरुवात

उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले जित्यो

जनसम्मत
कार्तिक १, २०८१, बिहीवार

महिला साफ च्याम्पियनसीपमा भारतले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो।

भारतको जितमा ग्रेस दाङमेइले २ तथा बालादेवी, मनिसा र ज्योति चौहानले समान १/१ गोल गरे।

यस्तै, पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले १/१ गोल गरे।

ग्रेस दाङमेइ, उद्घाटन खेलको ‘प्लेयर अफ दि म्याच’ बनिन्।

राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले दाङमेइलाई ‘प्लेयर अफ दि म्याच’ को ट्रफी प्रदान गरे।

महिला साफ च्याम्पियनसीपमा भोली आयोजक नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्स खेल्दैछन्।

च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, र बंगलादेश गरी ७ देशले प्रतिस्पर्धा गर्दैछन्।

कात्तिक १४ गतेसम्म च्याम्पियनसीपका खेलहरु चल्नेछन्।

नेपाल अहिलेसम्म ५ पटक महिला साफ च्याम्पियनसीपको फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन।

महिला साफ च्याम्पियनसीपको सबैभन्दा सफल टोली भारतले ५ पटक उपाधि जितेको छ।

यस्तै, बंगलादेशले १ पटक उपाधि जितेको छ।

तस्बीर: एन्फा