टी–२० क्रिकेटमा नेपालले अमेरिकालाई हरायो

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो

जनसम्मत
कार्तिक २, २०८१, शुक्रबार

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाएपनि टिमलाई जित दिलाउन असफल रहे।

यस्तै, आन्द्रेस गौसले ३० रन बनाए।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

यस्तै, रिजन ढकाल, करन केसी र गुल्सन झाले समान १/१ विकेट लिए।

त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए।

यस्तै, दीपन्द्रसिंह ऐरीले २८ बनाए।

त्यसैगरी, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए।

अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान २/२ विकेट लिए।

आजको जितसँगै नेपालले ३ खेलको टी–२० श्रृंखलामा १–० को अग्रता बनाएको छ।

अब, नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल आउँदो आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ।

यो टी–२० श्रृंखलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय श्रृंखला हुनेछ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो।

यसअघि, नेपाल र अमेरिकाबीच ७ वटा एकदिवसीय खेल भएकोमा ४ खेलमा नेपाल विजयी हुँदा २ खेलमा हार र १ खेल नतिजाविहीन थियो।

तस्बीरः नेपाल क्रिकेट संघ (क्यान)