महिला साफ च्याम्पियनसीपमा बंगलादेश र पाकिस्तानले पनि बराबरी खेल्यो

बराबरी खेलेसँगै साविक विजेता बंगलादेश र पाकिस्तान दुबैले समान १/१ अंक बाँड्यो

जनसम्मत
कार्तिक ४, २०८१, आइतबार

महिला साफ च्याम्पियनसीप फुटबलमा साविक विजेता बंगलादेश र पाकिस्तानले पनि बराबरी खेलेको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (आइतबार) बेलुका भएको खेलमा बंगलादेश र पाकिस्तानको खेल १–१ गोलको बराबरीमा रोकिएको हो।

बराबरी खेलेसँगै साविक विजेता बंगलादेश र पाकिस्तान दुबैले समान १/१ अंक बाँडेका छन्।

पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानका लागि खेलको ३२ औं मिनेटमा जाहमेना मालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

उता, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई बराबरीमा टुंग्याइन्।

आइतबारको खेलमा समूह ’ए’ अन्तर्गत पाकिस्तानका लागि दोस्रो र बंगलादेशका लागि पहिलो खेल थियो।

च्याम्पियनसीपको बलियो भारत १ खेलमा ३ अंकसहित शीर्ष स्थानमा छ।

साबिक विजेता बंगलादेश १ खेलबाट १ अंकसहित दोस्रो र पाकिस्तान २ खेलबाट १ अंकसहित पुछारमा छ।

तस्वीर: साफ