न्युजिल्यान्ड पहिलो पटक महिला टी–२० विश्वकपको च्याम्पियन

दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक टी–२० विश्वकप क्रिकेट जितेको हो

जनसम्मत
कार्तिक ५, २०८१, सोमबार

न्युजिल्यान्ड पहिलो पटक महिला टी–२० विश्वकपको च्याम्पियन बनेको छ।

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आइसीसी महिला टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको हो।

दुबईमा हिँजो (आइतबार) राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो।

न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन्।

न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३/३ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो।

न्युजिल्यान्डकी अमिला केरले ४३ रन बनाइन्।

दक्षिण अफ्रिकाकी नोन्कुलुलेको म्लाबाले २ विकेट लिइन्।

प्रतियोगिताभर १३५ रन बनाउँदै १५ विकेट लिएकी अमिला केर उत्कृष्ट खेलाडी बनिन्।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ।

अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ को विजेता हो।

यस्तै इंग्ल्यान्ड पहिलो संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ को विजेता हो।

दक्षिण अफ्रिका फेरि पनि उपविजेता बनेको छ।

दक्षिण अफ्रिका सन् २०२३ मा पनि उपविजेता बनेको थियो।

तस्बीरः एजेन्सी