पत्रकारमाथि हातपात र संचारसामग्री तोडफोडको विरोध

संचारकर्ममा खटिएका पत्रकारहरु अर्जुन गाहामगर (शुशान्त) र सागरराज तिमिल्सिनालगायतका पत्रकारहरु घाइते छन्

जनसम्मत
कार्तिक ४, २०८१, आइतबार

आन्दोलनकारीद्वारा पोखरामा पत्रकारमाथि हातपात भएको छ।

स्थलगत रिपोर्टिङका लागि संचारकर्ममा खटिएका प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत् राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले हातपात र क्यामेरा तोडफोड गरेको हो।

पत्रकारहरु निरज तामाङ, चन्द्रिका घिमिरे ‘अनिता’ क्यामेरपर्सन अर्जुन भण्डारीमाथि आन्दोलनरत् कार्यकर्ताहरुले दुव्र्यवहार गरेको जनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात र तोडफोड गरेको जनाइएको छ।

आइतबार बिहान साढे ११ बजेतिर पोखराको सहीदचोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै जुलुस निकोलेका थिए।

नेपाल पत्रकार महासंघद्धारा पत्रकारमाथिको दुव्र्यवहार घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा आन्दोलनरत कार्यकर्ताले हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी महासंघमा प्राप्त भएको प्रेस विज्ञप्ति जारी गर्दै महासंघले जनाएको छ।

महासंघका कार्यवाहक महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन संचारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो। यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ घटनाको कडा शब्दमा भत्र्सना गर्दछ।’

घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन महासंघले घटनामा सम्बद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षणसमेत गराएको छ।

‘घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढा पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा संचारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महासंघ संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।

यसका साथै आन्दोलनको स्थलगत रिपोर्टिङका लागि संचारकर्ममा खटिएका अन्य पत्रकारहरु पनि घाइते समेत भएका छन्।

पत्रकार एवं संचारकर्मीहरु आन्दोलरत पक्षको ढुंगामुढा र सुरक्षा निकायले प्रयोग गरेको पानीको फोहराले घाइते हुन पुगेका हुन्।

सुनगाभा न्यूज डट कमका अर्जुन गाहामगर (शुशान्त), एपीवान टेलिभिजनका गण्डकी ब्यूरो सागर तिमिल्सिनालगायतका पत्रकारहरु संचारकर्ममा खटिने क्रममा घाइते बनेका छन्।

उनीहरुको संचार सामग्री क्यामेरालगायत क्षति भएको छ।

यस सम्बन्धमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की जिल्ला समितिले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ।

पत्रकारमाथिको हातपातलगायत संचार सामग्री तोडफोडसम्बन्धमा पत्रकार महासंघ गण्डकी कार्यसमितिले समेत विरोध जनाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण जनाएको छ।

हेरौं, विज्ञप्तिहरु