गण्डकी प्रदेश सरकारले पूर्णता पायो

प्रदेशसभाका लागि लमजुङबाट प्रत्यक्ष निर्वाचन जितेको भेषबहादुर पौडेल प्रदेश सकारको वन मन्त्रीमा नियुक्त, पौडेलले आजै लिए शपथपनि

जनसम्मत
कार्तिक ५, २०८१, सोमबार

गण्डकी प्रदेश सरकारले आज (सोमबार) देखि पूर्णता पाएको छ।

प्रदेश सांसद भेषबहादुर पौडेल वनमन्त्री बनेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) लमजुङबाट गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसद पौडेललाई प्रदेश सरकारको रिक्त वनमन्त्रीमा नियुक्त गरेका हुन्।

लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री पाण्डेले पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन्।

पौडेलले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

उनलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सथप खुवाएका हुन्।

पौडेल लमजुङ काँग्रेसका निवर्तमान सभापतिसमेत हुन्।

उनी पार्टीभित्र शेखर समूहका मानिन्छन्।

गत भदौ १७ गते मुख्यमन्त्री पाण्डेले प्रदेशको मन्त्री मण्डलमा हेरफेर गरेपछि प्रदेशको वन मन्त्रालय मन्त्रीविहीन थियो।

भौतिक मन्त्रालयबाट राजीव गुरुङ (दीपक मनाङे)लाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए।

भागबण्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि काँग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले ‘मनाङे’लाई मन्त्रीमा निरन्तरता दिएका थिए।