टी–२० क्रिकेटमा अमेरिकामाथि नेपालको ‘क्लिन स्वीप’

अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो। अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा ‘सुपर ओभर’मा विजयी बनेको थियो।

जनसम्मत
कार्तिक ६, २०८१, मंगलवार

टी–२० क्रिकेट श्रृंखलामा अमेरिकामाथि ३ खेलको जित निकाल्दै नेपालले ‘क्लिन स्वीप’ गरेको छ।

टी–२० श्रृंखलाअन्तर्गत अमेरिकाको डालासमा हिँजो (सोमबार) भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृंखलामा ‘क्लिन स्वीप’ गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो।

नेपालका आसिफ शेखले अर्धशतक बनाए।

आसिफ ३९ बलमा ५० रन बनाएर आउट भए।

यस्तै, कुशल मल्लले ४४ रन बनाए।

कुशल भुर्तेल ४० रनमा नटआउट रहे।

अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनायो।

अमेरिकाका साइतेजा मुकामलाले ६८ रन बनाए।

मिलिन्द कुमारले नटआउट ४३ रन जोडे।

नेपालका सोमपाल कामीले ३ विकेट लिए।

रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो।

यस्तै, दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालको यो दोस्रो ‘क्लिन स्वीप’ हो।

यसअघि, सन् २०१९ मा मलेसियामा भएको श्रृंखलामा नेपालले घरेलु टोलीमाथि ‘क्लिन स्वीप’ गरेको थियो।

टी–२० श्रृंखलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवशीय श्रृंखला हुनेछ।