अब, सबै सरकारी वेबसाइटमा एकरुपता कायम

‘संचार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्नुपर्ने निर्णय भएको छ, डेटा सेन्टर हेर्न स्थायी दरबन्दी थपिने’

जनसम्मत
कार्तिक ५, २०८१, सोमबार

सरकारले अब सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता ल्याउने निर्णय गरेको छ।

सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले सरकारी वेबसाइटहरूमा एकरूपता कायम गर्ने तथा अद्यावधिक गराउने निर्णय गरेको हो।

संचार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्नुपर्ने उक्त बैठकले निष्कर्ष निकालेको छ।

रेखा शर्मा संचारमन्त्री हुँदा १६ फागुन २०७९ मा एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणाली सुरु गरिएको थियो।

यो प्रणालीले सबै सरकारी कार्यालयका वेबसाइटहरूलाई एउटै ढाँचामा ल्याउने उद्देश्य राखे पनि डेढ वर्ष बितिसक्दा पूर्ण रूपमा कार्यान्वयन भएको छैन।

त्यसैगरी सरकारी ईमेलको प्रयोग एवं त्यसको सुरक्षाका लागि एकीकृत सरकारी ईमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

कार्यदलको सुझाव सहितको कार्ययोजना तयार गरी संचार मन्त्रालयले आगामी सचिव बैठकमा पेश गर्नुपर्नेछ।

त्यसैगरी, एकीकृत डेटा व्यवस्थापन केन्द्र (आइडीएमसी) मा आवश्यक स्थायी दरबन्दी थप गरिने निर्णय गरिएको छ।

केन्द्रको स्तरोन्नति गर्ने एवं सो निकायलाई सक्रिय गराई सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाह र कार्यसम्पादन गर्ने प्रणालीलाई मजबुत बनाउन बैठकले जोड दिएको छ।

त्यस्तै, हाल प्रयोगमा रहेका सफ्टवेयरको स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाउने पनि निर्णय भएको छ।