टिकटकका सयौँ कर्मचारीहरु कटौतीमा परे

टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ

जनसम्मत
कार्तिक ५, २०८१, सोमबार

सामाजिक सञ्जाल टिकटकले सयौँको संख्यामा कर्मचारी कटौती गरेको छ।

यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित बनेका छन्।

कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ।

टिकटकले स्वचालित विधिसँगै कर्मचारीका माध्यमबाट पनि कन्टेन्टको निगरानी गर्दै आएको छ।

यद्यपि, नियमविपरीत पोस्ट गरिने ८० प्रतिशत कन्टेन्ट भने प्रविधिका माध्यमबाट स्वचालित रुपमा आफैँ हट्ने गरेको कम्पनीले जनाएको छ।

बाइटडान्सका अनुसार संसारका २ सयभन्दा धेरै शहरमा कम्पनीका १ लाख १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्।

कम्पनीले प्रयोगकर्ताको विश्वास हासिल गर्नका लागि गोपनीयताको सुरक्षामा यस वर्ष २ अर्ब डलरभन्दा धेरै लगानी गर्ने अपेक्षा गरिएको छ।

टिकटक मालिकले इन्टर्नलाई निकाल्यो

एआई परियोजना चौपट पारेपछि चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकका मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ।

कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा भएपछि कम्पनीले ती इन्टर्नलाई निकालेको बताइएको छ।

नाम नखुलाइएका इन्टर्नको सो कदमले कम्पनीले निकै ठूलो क्षति भएको अनुमान भइरहेको छ।
तर, कम्पनीले भने यस्ता दाबीको खण्डन गरेको छ।

ती दाबी बढाई चढाई र असत्य भएको कम्पनीको दाबी छ।

सप्ताहन्तमा सामाजिक सञ्जालमा यो खबर भाइरल बनेपछि कम्पनीले यस्तो दाबी गरेको हो।

बाइटडान्सको दोउबाओ ओपनएआईको च्याटजीपीटी जस्तै जेनरेटिभ एआई मोडल हो।
यो त्यहाँको लोकप्रिय एआई च्याटबोट हो।

ती व्यक्ति विज्ञापन प्रविधि टोलीका इन्टर्न भएको र एआई ल्याबमा काम गरेको अनुभव हुँदै नभएको एउटा विज्ञप्तिमा बाइटडान्सले जनाएको छ।

इन्टर्नका कारण कम्पनीलाई १ करोड डलरभन्दा बढीको क्षति भएको समाचार छापिएका थिए।

तर, कम्पनीले ती समाचारको खण्डन गरेको छ।

समाचार स्रोतः एजेन्सी