कास्कीको रुपा गाउँपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन्।
धावक गोदारले करिब साढे २ दिनमा उक्त दूरी पार गरेका हुन्।
काठमाडौँको दशरथ रंगशालाबाट सोमबार देखि सुरु भएको गोदारको दौड पोखरा रंगशालासम्म आज (बुधबार) दिउँसो करिब २ः०० बजे पूरा गरेका हुन्।
गोदार नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने सफल धावक हुन्।
धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघसंस्थाहरुले स्वागत गरे।
पोखरा रंगशालामा उनलाई कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद बिकास समिति, पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उधोग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्कीलगायतका संघसंस्थाले स्वागत गरेको थियो।
उनलाई बाटो–बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको थियो।
आफ्नो दौडको उक्त अभियानमा सहयोग गर्नुहुनेप्रति उनले धन्यवाद दिएका छन्।
काठमाडौँको दशरथ रंगशालाबाट सुरु भएको उक्त दौड पोखरा रंगशालमा आएर एक राउण्ड लागर समापन गरे।
दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना थियो।
यद्यपी, उनले पहिलो दिन काठमाण्डौंदेखि धादिङको मजिमटारसम्म ८६ कलिोमिटर, दोश्रो दिन मजिमटारदेखि तनहुँको दमौलीसम्म ७४ किलोमिटर र तेश्रो दिन दमौलीदेखि पोखरा रंगशालासम्म ५० किलोमिटर दुरी पार गर्दै निर्धारित दूरी पूरा गरे।
उनलाई मोटरसाइकल राइडरसहितको एक टोलीले आवश्यक मेडिकल सुविधा उपलब्ध गराएको थियो।
गोदार स्वयंले आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गरेका हुन्।
कास्की रूपा गाउँपालिका–१ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षति भएकोले शान्तिको कामनासहित ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट लिएका थिए।
नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पूरा गर्ने अभियानमा थिए।
उनले आफू सातामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएको बताएका छन्।
गोदारले पोखरा म्याराथनमा आफू सहभागी हुने लक्ष्य लिएको गोदारले बताएका छन्। केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागीता जनाएका थिए।
अर्जुन गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने पोखरेली खेलकुदकर्मीहरुको भनाई छ।