भुटान साफ महिला च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ।
समूह ‘बी’ को लिग चरणको अन्तम खेलमा माल्दिभ्समाथि १३ गोलवर्षा गराउँदै बलियो भुटानले सेमिफाइनलमा स्थान बनाएको हो।
त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह ’बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो।
भुटानकी देकी ल्हजोमले ५ गोल गरिन्।
यस्तै, पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २/२ गोल गरे।
नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १/१ गोल थपे।
यो जितसँगै भुटान ३ खेलमा ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
माल्दिभ्स ३ वटै खेल हार्दै पुछारमा छ।
नेपाल २ खेलबाट ४ अंकसहित तालिकाको दोस्रो र श्रीलंका २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छन्।
दुवै टोलीको सेमिफाइनलमा पुग्ने संभावना छ।
यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ।
यसअघि समूह ’ए’ बाट बंगलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन्।