गण्डकी प्रदेशबासीलाई स्वस्थ बनाउने प्रयास सुरु

प्रदेश स्वास्थ्य मन्त्री पाठक भन्छन्, ‘प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न ३ वटा कालीन योजना बनाएर काम थालिएको छ’

जनसम्मत
कार्तिक ११, २०८१, आइतबार

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन्।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजनाअनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए।

प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न ३ वटा कालीन योजना बनाएर काम थालेको उनको भनाई छ।

‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनले भने।

यसैबीच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने उनले बताए।

स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए।

उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए।

अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए।

शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधिसमेत प्रस्तुत गरेका थिए।

अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ।

४ दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा डा. विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान छन्।

उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन्।

शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डा. पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानीत व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझीलगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाबारे बोलेका थिए।

अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।