संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल वातावरण पत्रकार समूह (नेफेज) को समूहले भेट गरेको छ।
(नेफेज) समूहको नवनिर्वाचित कार्यसमिति संचार मन्त्रालय पुगेर मन्त्री गुरुङलाई भेटेको हो।
भेटमा संचारमन्त्री गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताए।
उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे।
सरकारका प्रवक्ता मन्त्री गुरुङले भने, ‘विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ। त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरुरी छ।’
कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभाबी रूख कटान गर्ने दुवै कार्य उचित नभएको मन्त्री गुरुङको धारणा छ।
उनले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गरे।
‘जलवायु परिवर्तनका मुद्दामा सचेतना बढेपनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम छन्’, गुरुङको जिकिर छ।
उनको भनाई छ, ‘नेपालको कार्बन उत्सर्जनमा नगण्य योगदान भएपनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित हुनुपरेको छ। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना संयुक्त राष्ट्रसंघको उच्चस्तरीय मञ्चमा प्रष्ट कुरा राखिसक्नुभएको छ।’
मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभावलगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगतलाई आह्वान गर्नुपर्नेमा जोड दिए।
नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कामकारबाहीबारे जानकारी गराएका थिए।
नेफेजको कार्यालय भवनको निर्माण कार्य बाँकी रहेकाले त्यसमा थप सहयोगका लागि कार्कीको आग्रह थियो।