बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियन, नेपाल उपविजेतामै सीमित

गत संस्करणको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो

जनसम्मत
कार्तिक १४, २०८१, बुधबार

साविक विजेता बंगलादेश दोस्रो पटक महिला साफ फुटबलको च्याम्पियन बनेको छ।

गत संस्करणको उपविजेता नेपाललाई हराउँदै बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलले हरायो।

खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले अग्रता लिएको थियो।

त्यसको ३ मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल १–१ गोलको बराबरी बनाएकी थिइन्।

तर, खेलको ८१ औं मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन्।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै फाइनल पुगेको थियो।

उता, बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थियो।

यसअघि, ५ पटक फाइनलमा पुगेरपनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित बन्यो।

गत संस्करणको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो।