आधिकारिक रूपमै नेपालमा टिकटकको दर्ता

संचार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर भन्छन्, ‘टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम नै दर्ता भएको हो’

जनसम्मत
कार्तिक २१, २०८१, बुधबार

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमै नेपालमा दर्ता भएको समाचार छ।

समाचारअनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्।

मन्त्रालयका प्रवक्तासमेत रहेका ठाकुरले भनेका छन् ’टिकटकले प्रक्रिया मिलाएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो।’

प्रवक्ता ठाकुरले बताएअनुसार टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम नै दर्ता भएको हो।

’हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ,’ ठाकुरलाई उदृत गर्दै समाचारमा जनाइएको छ।

टिकटकले कागजात उपलब्ध गराउन कार्तिक तेस्रो सातासम्मको समय मागेपनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो।
२ सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।

टिकटकले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो।

जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

तर, २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो।

अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली काँग्रेस, रास्वपा, राप्रपालगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।

टिकटकले नेपालको नीति नियममा बसेर संचालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

त्यस्तै, २ पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकलाई पत्र पठाएको थियो।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो।

यससँगै आधिकारिक दर्ता गरेर संचालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताएका छन्।

’टिकटकमा आपत्तिजनक कन्टेन्ट आएको छ भने त्यसलाई हामीले नै पत्राचार गरेर हटाउन भन्न सक्छौं,’ उनले भने।

टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्नेछ।

सेतोपाटी डट कममा समाचार छ।