पोखरामा यस वर्षपनि विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन्।
होटल संघ पोखराको आयोजनामा आइतबार १७ औँ संस्करणको भाइटीका महोत्सव गरेको हो।
१२ देशका ५६ जना पर्यटकले नेपाली दिदीबहिनीसँग सामूहिक भाइटीका लगाएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्।
महोत्सवमा भारत, चीन, स्पेन, जापान, भियतनाम, मंगोलिया, अस्ट्रेलिया, बेलायतलगायतका पर्यटकले भाग लिएका हुन्।
नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव संयोजकसमेत रहेका सुवेदीले बताए।
लेकसाइडको होटल ल्यान्डमार्कमा भएको महोत्सवमा सहभागी विदेशी पर्यटकलाई रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए।
सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाकाको टोपी लगाइदिएर सेलरोटीलगायतका परिकार पस्किए।
भाइटिका लगाएलगत्तै देउसीभैलो र नाचगान कार्यक्रमसमेत देखाए।
सहभागी पर्यटक पनि नाचगानमा साथ दिँदै रमाए।
यहाँको संस्कृति र रहनसहनबारे जान्ने मौका पाएकोमा पर्यटकले खुसी व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रवर्धन गरेका थिए।
गोर्खा बियर र ईसेवा होटल्सले महोत्सवलाई सघाएका थिए।
पर्यटकको उपस्थिति बढेपछि ३ चरण गरेर टीका लगाउनुपरेको आयोजकले जनाएको छ।
त्यसैगरी, ह्वाइट कोरल स्पा एकेडेमीले पनि भाइटीका अवसरमा पोखरामा ‘फेस्टिभल अफ लाइट’ आयोजना गरेको संचालक कमला गिरीले बताइन्।
कार्यक्रममा करिब १५ जना विदेशी पर्यटकलाई एकेडेमीका छात्राहरूले सप्तरंगी टीका लगाएर नेपाली शैलीको सगुन पस्केका थिए।
उनीहरूले फेरि फेरि पनि नेपाल आउँदा भाइटीकामा सहभागी हुने वचन दिए।
लेकसाइड स्ट्रिट नम्बर ११ मा रहेको उक्त एकेडेमी कमला गिरी र निशा बुढाले संचालन गरेका हुन्।
त्यस्तै, लेकसाइडकै वरपीपल रिसोर्टले पनि आयोजना गरेको भाइटीका कार्यक्रममा उल्लेख्य रूपमा विदेशी पर्यटक पुगेका थिए।