पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्।
सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको विषयमा दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई आज (बुधबार) सफाई दिएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीसफाईप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले व्यक्ति र कम्पनी गरी १२ जना प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाई दिएको हो।
यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ।
भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालीन मुख्यसचिव अर्याल निलम्बनमा परेपछि सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद दरवन्दीको स्थापना गरी सरुवा गरेको थियो।