पोखरामा पर्सि (शनिबार, कार्तिक २४ गते, २०८१) मा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ।
हिमालयन टुरिजम फोरमद्वारा आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय महत्वको पर्वतीय क्रस कन्ट्री दौडको तयारी पूरा भएको जनाएको हो।
प्रतियोगिताअन्तर्गत ४ प्रकारका दौडमा करीब १२ सय भन्दा बढी खेलाडीहरुको सहभागितामा दौड हुने पत्रकार सम्मेलनमा जनाएको छ।
यस दौडका लागि चीनको कुन्मिङबाट अन्तराष्ट्रि चार्टर्ड फ्लाइटबाट १३४ जना चिनियाहरु पोखरा आएका छन्।
उनीहरु बिहीबार दिउँसो २ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
१३४ चिनियामध्ये ६४ जना खेलाडी र बाँकी प्राविधिक तथा अफिसियलहरु छन्।
त्यस्तै, पोखरा बाहिरबाट दौडमा सहभागी खेलाडीहरु बिहीबारसम्म आउने क्रम जारी रहेको आयोजकले बताएको छ।
टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन दौड हुनेछन्।
टिम समूह दौडमा १७ नेपाली र ४ चिनिया टिम गरी २१ समूहले प्रतिस्पर्धा गर्नेछन्।
यस दौडका लागि ६३ जना खेलाडीले नाम दर्ता गराएका छन्।
यस दौडमा खेलाडीहरुले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ।
पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भई राष्ट्र बैंकचोक, ड्यासाइड, छेरेपाटन, पुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदिखोला, दमगडेको स्कूल, साल्मेडाँडा, रामकोट, कुबिन्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दी–भुम्दी, तालपारी, द बिच रेस्टुरेन्ट हुँदै फेरी बाराहीघाट आएर ५० किलोमिटरको यो दौड पूरा गर्नुपर्ने हुन्छ।
यस दौडका क्रममा खेलाडीहरुले कूल २२५८ मिटर उचाई पार गर्नेछन्।
यस दौडका शीर्ष ५ टोलीले नगद पुरस्कार पाउनेछन्।
यस दौडका विजेता टिमले ४ लाख ५८ हजार ४ सय रुपैयाँ (२४ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
दोस्रो हुने टिमले ३ लाख ४३ हजार ८ सय रुपैयाँ (१८ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ (१२ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
चौथो हुने टिमले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
त्यसैगरी, पाँचौ स्थानमा आउने टिमले ९५ हजार ५ सय रुपैयाँ (५ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
३/३ जना खेलाडी हुने यस दौडअन्तर्गतको प्रत्येक टिममा १ जना खेलाडी विपरित लिङ्गी अनिवार्य हुनुपर्नेछ।
च्यालेन्ज इन्डिभिजुअल दौडमा महिला, पुरुष गरी १ सय जना नेपाली र ५२ चिनिया गरी १ सय ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
यस दौडका प्रतिस्पर्धीले ५० किलोमिटरको दूरीको ट्रेलमा २३ सय ६६ मिटरको कूल उचाई पार गर्नेछन्।
यो दौड बाराहीघाटबाट सुरु भई राष्ट्र बैंकचोक, ड्यासाइड, छेरेपाटन, पुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदिखोला, दमगडेको स्कूल, साल्मेडाँडा, रामकोट, कुबिन्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दी–भुम्दी, पिस पगोडा, पुनः ड्यामसाइड, राष्ट्र बैंकचोक हुँदै बाराहीघाटसम्म आएर समापन हुनेछ।
यस दौडमा शीर्ष १० पुरुष र शीर्ष १० महिला खेलाडीले पुरस्कार पाउनेछन्।
प्रथम हुने महिला, पुरुष खेलाडीले १ लाख ५२ हजार ८ सय (८ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
त्यसैगरी, दोस्रो हुने महिला, पुरुष दुबै तर्फकाले १ लाख १४ हजार ६ सय (६ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
तेस्रो हुने महिला, पुरुष खेलाडीले ७६ हजार ४ सय (४ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
चौथोदेखि सातौं स्थानमा आउने महिला, पुरुष दुबैतर्फका विजेताले समान ३८ हजार २ सय (२ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, आठौंदेखि दशौं स्थानसम्म आउने महिला, पुरुष दुबैतर्फका विजेताले १९ हजार १ सय रुपैयाँ (१ हजार आरएमबी) नगद पुरस्कार पाउनेछन्।
छात्र/छात्राको विद्यार्थी दौडको प्रतिस्पर्धामा ८ कक्षादेखि १२ कक्षासम्मका करीब ५ सय विद्यार्थीहरुले स्पर्धा गर्दैछन्।
छात्र/छात्रा विद्यार्थी दौडको दूरी ५ किलोमिटरको हुनेछ।
लेकसाइडको बाराहीघाटदेखि यो दौड सुरु भएर गौरीघाट, सहिदचोक, राष्ट्र बैंकचोक, ड्यामसाइडबाट फेरि फर्किएर राष्ट्र बैंकचोक, सहिदचोक, गौरीघाट हुँदै बाराहीघाटमै आएर दौड पूरा गर्नु पर्नेछ।
यस दौडमा शीर्ष ६ स्थानमा आउने छात्र/छात्रा दुबैले नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
छात्र/छात्रा दुबैतर्फ प्रथम स्थानमा आउनेले ३० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले २० हजार, चौथो, पाँचौ र छैटौं स्थानमा आउनेले १० हजार नगद पुरस्कार पाउनेछन्।
ह्याप्पी रन समूहको दौडमा सहभागी सबैले प्रमाणपत्र पाउनेछन्।
दौडको तालिकाअनुसार शनिबार विहान साढे ७ बजे प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम छ।
त्यसअघि, शुक्रबार विहान साढे ८ बजे पोखराको बसुन्धरापार्कमा स्प्रिङ सिटीको अनावरण गर्ने कार्यक्रम छ।
शुक्रबार विहान साढे ९ बजे पोखराको रातोपैरोस्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी गर्ने कार्यक्रम छ।
शुक्रबार दिउँसो २ बजेपछि खेलाडीहरुको अन्तिम नाम दर्ता र आवश्यक खेल सामग्रीहरु वितरण गर्ने कार्यक्रम छ।
दौडको भोलीपल्ट कार्तिक २५ गते, आइतबार स्वदेशी तथा विदेशी खेलाडीहरुले पोखरा र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको भ्रमणसहित दृश्यावलोकन गर्न सक्ने आयोजकले बताएको छ।
हिमालयन टुरिजम फोरम पोखरा, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड यस दौड प्रतियोगिताको मुख्य आयोजक रहनेछन्।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद विकास समिति, चीनको युनान प्रान्तीय खेलकुद ब्यूरो, युन्नान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, कुनमिङ विदेश मामिला कार्यालय, कुन्मिङ खेल महासंघ र कुन्मिङ पिपुल्स एशोसिएसन फर फ्रेन्डसीप विथ फरेन कन्ट्रिजलयागतका स्वदेशी तथा विदेशी संघसंस्थाहरु यस दौड प्रतियोगिताको सहआयोजक रहेका छन्।
हिमालयन टुरिजम फोरम पोखरा, चीनको युन्नान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएसन र कुनमिङ माउण्टेनियरिङ एण्ड एड्भेञ्चर एशोसिएसनले यस दोडको नेतृत्व गर्नेछ।
त्यसैगरी, स्याङ्जाको फेदिखोला गाउँपालिका, पोखरा पर्यटन परिषद, होटल संघ पोखरा, पोखरा चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज, पोखरा युवा परिषद, नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टर, लायन्स क्लब अफ पोखरा सेन्टिनियल, नेपाल चाइना जनमैत्री संघ, पोखरा ओभरसीज चाइनिज संघ, चाइन कल्चर सेन्टर, नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा र खेलाडी संघहरुले यस दौडको सह–नेतृत्व गर्नेछ।
यस दौड प्रतियोगिताका लागि आधिकारिक एअरलाइन्समा बुद्ध एअरलाइन्स, आधिकारिक इन्सुरेन्समा प्राइम अजोड इन्सुरेन्स, आधिकारिक बेभरेजको साझेदारमा बार हर्स इनर्जी भिटामिन बेभरेज र आधिकारिक पानी साझेदारमा रेबट स्प्रिङ मिनिरल वाटरले प्रायोजन गरेको छ।