पोखराको मानव सेवा आश्रमलाई स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार

उत्कृष्ट विद्यार्थीहरु आशिष र श्रेया तथा चमेरीगुफा कृषक समूहलाई पनि पुरस्कार, एकल महिलालाई सहयोग, रक्तदानमा १०२ युनिट संकलन

जनसम्मत
कार्तिक २२, २०८१, बिहीवार

पोखराको मानव सेवा आश्रमलाई यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिएको छ।

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको संघसंस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ।

सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ।

पोखरामा बिहीवार क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह कार्यक्रममा सो पुरस्कार प्रदान गरेको हो।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, संस्थापक यादवचन्द्र देवकोटा, पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ, ताराप्रसाद तिमिल्सीना, सल्लाहकार खिमलाल अधिकारी र पुर्वसांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदीश पुनलाई सम्मानपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन्।

पुरस्कार राशी १५ हजार रुपैयाँ छ।

यसअघि, उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, लायन स्व. गोविन्दबहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदयवहादुर बस्नेत, सिद्घार्थ क्लव र नवआदर्श सामुदायिक विकास संस्था सो पुरस्कारबाट सम्मानीत भइसकेका छन्।

उत्कृष्ट विद्यार्थीहरु आशिष र श्रेयालाई पनि पुरस्कार

सोही अवसरमा पोखरा महानगरपालिका–१६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र÷छात्रालाई पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार प्रदान गरिएको छ।

बाटुलेचौरस्थित बिन्ध्यवासिनी माविबाट जीपीए ल्याउने छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई सम्मानपत्रसहित सो पुरस्कारबाट सम्मानीत भएका हुन्।

संस्थापक गणेशवहादुर थापा र विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सो पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार राशि जनही ५ हजार रुपैयाँ छ।

चमेरीगुफा कृषक समूहलाई पनि पुरस्कार

त्यस्तै, चमेरीगुफा कृषक समुहलाई यस वर्षको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ।

संस्थापक कृष्णप्रसाद अधिकारी, प्रभा कोइराला, सल्लाहकार राजेन्द्रबहादुर देवकोटा, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सीना र संयोजक प्रकाश थापाले कृषक समुहलाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार राशि ५ हजार रुपैयाँ छ।

बिवा नेपाली र तिला बि.क.लाई सहयोग

कार्यक्रममा क्लबले बाटुलेचौरका बिवा नेपाली र अर्मलाका तिला वि.क.लाई एकल महिला सहयोगस्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ।

पोखराको हिमालय क्लव बाटुलेचौरले एकल महिला सहयोग कार्यक्रम स्थापना गरेको हो।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का ‘विखर्ची’, मानव सेवा आश्रम पोखराका शाखा प्रमुख सदीश पुनले मानव सेवा आश्रम र स्थानीय बाटुलेचौरको हिमालय क्लबबारे बोलेका थिए।

क्लवका अध्यक्ष मोहनबहादुर थापाले स्वागत र सचिव तुलबहादुर वस्नेतले कार्यक्रम संचालन गरेका थिए।

यसैगरी, क्लवले आयोजना गरेको २७ औं रक्तदान कार्यक्रममा १०२ युनिट रगत संकलन भएको छ।