क्रस कन्ट्री दौडको टिम इभेन्टमा नेपाली धावकहरुको वर्चस्व

विभागीय नेपाल आर्मीका शुशिल शाही, सिर्जन पौडेल र श्रीकस राईले ५० किलोमिटरको क्रस कन्ट्री दौडको विजेता

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फ नेपाली धावकहरुले वर्चस्व कायम राखेका छन्।

नेपाली धावकहरुले क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फको सबै उपाधि हात पारेका हुन्।

नेपाली सेनाका शुशिल शाही, सिर्जन पौडेल र श्रीकस राईले टिम इभेन्टतर्फको क्रस कन्ट्री दौड जित्न सफल भए।

निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा २० मिनेट १४ सेकेन्डमा पार गर्दै विभागीय नेपाल आर्मीका खेलाडीहरु टिम इभेन्टमा विजेता बने।

विजेता यस टिमले ४ लाख ५८ हजार ४ सय (२४ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

त्यसैगरी, यो इभेन्टमा विभागीय नेपाली सेनाकै करन रावत, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिम उपविजेता बने।

उनीहरुले निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा २२ मिनेट २९ सेकेन्डमा पार गरे।

उनीहरुले ३ लाख, ४३ हजार ८ सय रुपैयाँ (१८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

त्यस्तै, विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबका पुष्पा भण्डारी, निरज भट्ट र लक्ष्मण भण्डारी सम्मिलित टिम तेस्रो बने।

यो टिमले निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा २३ मिनेट र ०८ सेकेन्डमा पूरा गरे।

तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ (१२ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

यसैगरी, विशाल राई, रमेश लिम्बु र इन्द्रकला राई सम्मिलित टिम चौथो बन्यो।

उनीहरुले निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा, २८ मिनेट २६ सेकेण्डमा पार गरेका हुन्।

उनीहरुले पुरस्कार स्वरुप १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

यस्तै, विभागीय नेपाली सेनाका पूर्णलक्ष्मी राई, खड्गबहादुर खड्का र राजन रोकायाको टिम पाँचौ स्थानमा आउन सफल भयो।

उनीहरुले ९५ हजार ५ सय रुपैयाँ (५ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

टिम इभेन्टमा धावकहरुले ट्रेल रनिङ, साइक्लिङ र रोइङ (बोटिङ) गरी ५० किलोमिटरको निर्धारित दूरी पार गरेका थिए।

टिम इभेन्टतर्फ नेपालीतर्फ १९ र चिनियाँतर्फ ४ टिमले प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको ब्यवस्थापनमा सम्पन्न भएको हो।