पोखरामा शनिबार स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को पुस्तक विमोचन गरिएको छ।
पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे।
सायमीले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणासमेत गरे।
सायमीले भने, ‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु।’
बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए।
उनले भने,‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको उल्लेख गरे।
उनले भने,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ।’
बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताइन्।
‘त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक हो’, कोइरालाले भनिन्, ‘उहाँको कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ।’
कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतले स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए।
उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोकगायिका हरिदेवी कोइराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन्।