गण्डकी प्रदेश, कृषि मन्त्रालयको ०८१/०८२ को समीक्षा बैठक सकियो

कृषिमन्त्री श्रेष्ठको निर्देशन, ‘कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्नू’

जनसम्मत
कार्तिक २७, २०८१, मंगलवार

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष ०८१÷०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।

मालेपाटनस्थित मन्त्रालयको सभाहलमा सोमबारदेखि आयोजित समीक्षा गोष्ठी मंगलबार सम्पन्न भएको हो।

गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिति थियो।

गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले समापन कार्यक्रममा बोल्दै आम कृषकको हितलाई मन्त्रालयले शिरोपर गरेको उल्लेख गरिन्।

मन्त्री श्रेष्ठले विशिष्टीकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन्।

कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन्।

मन्त्री श्रेष्ठले भनिन्, ‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्त दुरुस्त बनाउन आग्रह गर्दछु। कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुने छ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुनेगरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु।’

कृषकहरुलाई कृषि बीमाबारे अवगत गराउनुपर्ने उनले जोड थिइन्।

मन्त्री श्रेष्ठले अधिकांश पशुपालन गर्ने कृषकहरुले पशुको बीमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून संख्यामा कृषकहरु बीमामा संलग्न भएकाले संपूर्ण कृषकहरुमा कृषि बीमाको महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘पशुपालन गर्ने अधिकांश कृषकहरुले बीमा गर्नुभएको थाह पाएँ। तर, अन्नबालीलगायतका खेती गर्ने कृषकहरु बीमामा संलग्न भएको संख्या न्यून छ। अब, सबै कृषकहरुलाई कृषि बीमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नुपर्दछ। यसले भइपरी हुने क्षतिबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ।’