यु–१९ पुरुषतर्फको दोस्रो अभ्यास खेलमा नेपालले कर्नाटकलाई हरायो

कर्नाटकले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा ३ विकेट गुमाएर भट्टायो

जनसम्मत
कार्तिक ३०, २०८१, शुक्रबार

यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा भारतको कर्नाटकको यु–१९ को टोलीलाई ७ विकेटले हराएको छ।

कर्नाटकको टोलीले दिएको १२२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो।

नेपालका आकाश त्रिपाठीले नटआउट ५२ रन बनाए।

मयन यादवले ३२ रन जोडे।

यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८ ओभर १ बलमा १२१ रनमा अलआउट भयो।

कर्नाटकका ऋषव अपाचुले सर्वाधिक ४० रन बनाए।

त्यसैगरी, प्रथिकले ३७ रन जोडे।

नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले समान ४/४ विकेट लिए।

योसँगै, ५ खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ।

श्रृंखलाको पहिलो खेलमा कर्नाटकको टोली १ विकेटले विजयी भएको थियो।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारीस्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको ५ अभ्यास खेल खेलेको हो।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि युएई जानेछ।