यु–१९ महिला टोलीका ४ खेलाडीलाई शनिबार पोखरामा भव्य स्वागत गरिएको छ।
यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको भन्दै गण्डकी प्रदेश क्रिकेट संघले नेपाली टोलीका ४ सदस्यलाई स्वागत गरेको हो।
ऐतिहासिक सफलता दिलाउन सफल १९ वर्षमुनिका महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको थियो।
प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देललगायतले खेलाडीहरुलाई स्वागत गरे।
उनीहरुलाई नगर परिक्रमासहित पोखरा रंगशालामा ल्याएर स्वागत गरेको थियो।
नेपाली टिममा गण्डकी प्रदेशका सीमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनीले खेलेका थिए।
गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलाडीलाई जनही २०/२० हजार नगद दिने प्रतिबद्धता जनाएका छन्।
नेपाली महिला टिमले सन २००७ देखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरू गरेको हो।
त्यसयता, नेपाली महिला टिम विश्व कपमा पुगेको यो पहिलो पटक हो।
त्यसैले नेपाली महिला क्रिकेटकै यो अहिलेसम्मकै ठूलो सफलता मानिएको छ।
छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली टोलीले पहिलो पटक महिला यु–१९ विश्व कपमा स्थान बनाएको हो।
आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा विश्व कप आयोजना हँदैछ।
विश्व कपमा स्थान बनाएसँगै नेपालले अर्को महिनामा हुने एसिया कपमासमेत छनोट भएको छ।