‘सामाजिक सञ्जाल हानिकारक होइन, चलाउन जाने लाभदायक छ’

वालमञ्चको वादविवाद प्रतियोगितामा जनप्रियकी कञ्चन विक प्रथम

जनसम्मत
मंसिर ८, २०८१, शनिबार

सामाजिक सञ्जाल सदुपयोग गर्न जाने समाजका लागि फाइदै फाइदा रहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

पोखरा महानगर–८, वडा बाल मञ्चद्वारा आयोजना गरेको कार्यक्रमका सहभागीहरु दाबी गर्छन्, ‘सामाजिक सञ्जाल समाजका लागि हानिकारक नभई लाभदायक छ।’

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सामाजिक सञ्जालको सदुपयोग गर्न जाने बालबालिकाहरुको चौतर्फी व्यक्तित्व विकास हुने जिकिर गरे।

‘यसका लागि वडा कार्यलय सहकार्य गर्न सधैं तयार छ’, बरालले प्रतिबद्धता जनाए।

शिक्षक तथा प्रधानाध्यापक तीर्थराज न्यौपाने भन्छन्, ‘अहिलेका बालबालिकाहरु मोबाइल बिना कुनैपनि काम गर्न नसक्ने स्थितिमा पुगेका छन्।

विद्यार्थी बालबालिकाहरुले मोबाइलमा सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न/गराउन उत्प्रेरित हुनुपर्छ।’

कार्यक्रममा पोखरा–८ की वडासदस्य पवित्रा केसी, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक नवराज न्यौपाने, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट ‘सारथी’, खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेल, शिवालय टोलविकास संस्थाकी सह–कोषाध्यक्ष शान्ति कँडेललगायतले बोलेका थिए।

उनीहरुले ‘आजका बालबालिका, उनीहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल’ का विषयमा बोलेका थिए।

‘सामाजिक सञ्जाल समाजका लागि हानिकारक होइन, लाभदायक छ’ बिषयक वादविवाद प्रतियोगितामा जनप्रिय माविकी कञ्चन बिक प्रथम भएकी छन्।

त्यसैगरी, सृजना माबिकी सपना शर्मा दोस्रो बनिन्।

त्यस्तै, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तेस्रो भइन्।

यसैगरी, राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भए।

न्यू मोडल माबिकी सृष्टि बराल, जनप्रिय माविकी कञ्चन विक, सृजना माविकी सपना शर्मा र अपेक्षा अधिकारी, राम आवासीय विद्यालयकी सन्ध्या चौधरी, मिसन मगर र पलसरी बुढा, लक्ष्मी आवासीय माविी सृष्टि आचार्य र प्रकृति ठकुरी, पोखरा एकेडेमीकी आयुषा रानाभाट र शिखा पुनलगायतले वादविवाद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, पत्रकार एवं अभिबक्ता सुस्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ सो वादविवाद प्रतियोगिताको निर्णायक थिए।

‘बालबालिकाको क्षेत्र बिकासमा सदैव लागि परौंं, वडा नं. ८ लाई बालमैत्री घोषणा गर्न प्रतिबद्ध बनौं’ भन्ने मूल नारासहित वादविवाद प्रतियोगिता भएको हो।

बालमञ्चका अध्यक्ष सुसान न्यौपानेको अध्यक्षतामा भएको वादविवाद प्रतियोगितामा मञ्चकी उपाध्यक्ष कृष्मा गिरीले स्वागत गरेकी थिइन्।

मञ्चका सचिव समिप सापकोटाले कार्यक्रम संचालन गरेका थिए।