पोखराको टेम्पल ट्री रिसोर्टलाई उत्कृष्ट करदाता सम्मान

टेम्पल ट्री रिसोर्टले १ वर्षमा करबापत १ करोड ९७ लाख, ३७ हजार, ७ सय, ९७ रुपैयाँ बुझायो

जनसम्मत
मंसिर ८, २०८१, शनिबार

पोखराको टेम्पल ट्री रिसोर्ट प्रा.लि.लाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ।

आन्तरिक राजस्व कार्यालय पोखराले सप्ताहव्यापी राष्ट्रिय कर दिवसका अवसरमा टेम्पल ट्री रिसोर्टलाई सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदाताका रुपमा सम्मान प्रदान गरेको हो।

टेम्पल ट्री रिसोर्ट प्रालिले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्मालगायतले सम्मान प्रदान गरेका हुन्।

यसैगरी, कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालि लाई सम्मान गरिएको छ।

कर सप्ताह कार्यक्रम अन्तर्गत मध्यमस्तरीय कर कार्यालय, बबरमहल, काठमाडौँले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा द्वितीय हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ मा अध्यनरत छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सुब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ।

यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो।

‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो।

सप्ताहको पहिलो दिन मंसीर १ गते विहान ७ः३० बजे पोखरा सभागृहदेखि सृजनाचोक हुँदै रत्नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि गरी राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो।

मंसीर २ गते पहिलो सेवाग्राही राधा खाजाघरका प्रोपाइटर यम बहादुर हमाललाई सम्मान गरिएको थियो।

यसैगरी, मंसिर ३ गते चेम्बर अफ कमर्श पोखरा, मंसिर ४ गते लेखनाथ उद्योग वाणिज्य संघ र मंसिर ५ गते पोखरा उद्योग वाणिज्य संघमा आवद्ध भएका व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

मंसीर ६ गते सहकारी संस्थाहरुका व्यवस्थापकहरुसंग कार्यालयको सभाहलमा करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

कर सप्ताहकै सन्दर्भमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

कर दिवसका अवसरमा कर कानून तथा कर छुट सम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ।

कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐन, २०८१ ले दिएका छुट सुबिधाहरु तथा अन्य कर सम्बन्धि जानकारी मूलक सन्देश माइकिङ समेत गरिएको छ। आर्थिक ऐन, द्दण्डज्ञ ले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम सम्पन्न भएका छन्।

आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व. २०७९/८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।

हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ५ सय १४ करदाता दर्ता भएका छन् ।

यसैगरी, १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्।

इटीडीएस गर्ने प्रयोजनार्थ ५ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन्।

यस्तै, आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार ३० जना करदाता छन्।

कार्यालयले शुक्रवार कर सप्ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो।