पोखराको राष्ट्रिय माविको हीरक महोत्सवमा भलिवल प्रतियोगिता

कास्की जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु, ४० टिमको सहभागिता

जनसम्मत
मंसिर ८, २०८१, शनिबार

पोखराको राष्ट्रिय माविले विविध कार्यक्रम गरी आफ्नो हीरक महोत्सव मनाउँदैछ।

पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा कास्की जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ।

उक्त प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ।

खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ टीम छात्र र छात्रातर्फ १३ टिमको सहभागिता रहेको वताए।

प्रतियोगितामा छात्र/छात्रा भलिबल दुवैतर्फ प्रथम हुनेले नगद ५० हजार, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

त्यसैगरी, दोश्रो हुनेले नगद ३० हजार रुपैयाँ, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

यस्तै, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

उत्कृष्ट १ जना खेलाडीले नगद ५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

त्यसैगरी, हीरक महोत्सवको खेलकुद कार्यक्रमअन्तर्गत अन्तर विद्यालयस्तरीय छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिताको हुनेछ।

जसअन्तर्गत प्रथम हुनेले नगद ५ हजार रुपैयाँ, पदक, प्रमाणपत्र र फेटा पुरस्कार पाउनेछन्।

दोस्रो हुनेले नगद ३ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

तेस्रो हुनेले नगद २ हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक गुरुङले जानकारी दिएका छन्।

पोखरा महानगरपालिका–१ का अध्यक्ष साहारा प्रधानले प्रतियोगिताको उद्घाटन गरे।

कार्यक्रममा बोल्दै प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताले विद्यालयहरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने बताए।

खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक गतिविधि सँगसँगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उनको भनाई थियो।