पोखरामा ‘सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम’ विषयक कार्यशाला

‘पोखरा–२८, कृषि, पर्यटनलगायतका क्षेत्रमा धेरै संभावना बोकेको वडा हो’

जनसम्मत
मंसिर ६, २०८१, बिहीवार

पोखरामा ‘सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव’ विषयक कार्यशाला गरिएको छ।

पोखरा महानगरपालिका–२८ मा आज (बिहीबार) शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको हो।

पोखरा महानगरको वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम संचालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशिला नेपालीले जानकारी दिइन्।

कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनको भनाई थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका वडा नं २८ ले कृषि, पर्यटनलगायतका क्षेत्रमा धेरै संभावना बोकेको बताए।

यहाँको संभावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा संचालन गर्न उनले जोड दिए।

‘प्राकृतिक स्रोतको दीगो प्रयोग, बन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुुधार गर्नुुपर्छ। पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्नुु जरुरी छ’ कडरियाले जोड दिए।

पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राकोडाँडा, चिन्तेकोडाँडा हुँदै रोयल ट्रेकलाई प्रवद्र्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आय–आर्जन बढाउन सकिने उनले उल्लेख गरे।

पोखरा–२८ मा कृषिको संभावनाबारे उनले प्रकाश पारे।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामछानेले वडाभित्रका हरेक संभावनालाई उजागर गर्ने कार्यमा सकृय भएको बताए।

उनले पछिल्ला समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल हुँदै आएको चर्चा गरे।

हाल, स्थानीय जागरुकता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने उनको भनाई थियो।

कृषि उत्पादनको बजारीकरणका माध्यमबाट स्थानीयको स्वरोजगार अभिबृद्धि गर्दै आय–आर्जनमा सहयोग गर्ने लक्ष्य राखिएको उनले बताए।