गुरुकुल र करुणानिधि राष्ट्रिय मावि भलिबल च्याम्पियन

छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधिलाई उपाधि

जनसम्मत
मंसिर १०, २०८१, सोमबार

पोखराको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधि एजुकेशन फाउण्डेशन (केफ), मावि च्याम्पियन बनेका छन्।

विद्यालयको हीरक महोत्सव अवसरमा सोमबार सम्पन्न छात्रतर्फ फाइनलमा माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुरुकुलले उपाधिसँगै ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ।

उपविजेता माउण्ट अन्नपूर्णले ३० हजार रुपैयाँ साथमा ट्रफी, मेडल पुरस्कार पाएको छ।

तेस्रो भएको न्यू ग्यालेक्सीले १५ हजार साथमा ट्रफी र मेडल पाएको छ।

गुरुकुलका अरबिन्द सुनार छात्रतर्फ उत्कृष्ट खेलाडी बन्दै ५ हजार र मेडल जितेका छन्।

यसैगरी, छात्रातर्फ केफले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भएको हो।

उपविजेता शान्ताले ३० हजार रुपैयाँ, ट्रफी, मेडल पुरस्कार पाएको छ।

तेस्रो बनेको पश्चिमाञ्चल माविले १५ हजार रुपैयाँको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ।

केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी घोषित बनिन्।

धनकुमारीले ५ हजार र मेडल प्राप्त गरिन्।

प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १३ टिमको प्रतिस्पर्धा थियो।

विद्यालयले हीरक महोत्सवकै अवसरमा छात्र–छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगितासमेत गरेको छ।

छात्रतर्फ त्रिभुवन शान्तिका लक्सन पुर्जा पुन प्रथम भए।

भद्रकाली माविका शंकर बिक दोस्रो भए।

गुरुकुल विद्या सदनका मनोज सिर्पाली तेस्रो भए।

सोही इभेन्टमा, छात्रातर्फ त्रिभुवन शान्ति माविकी शशी रानाभाट विजेता बनिन्।

गौरीशंकरकी डोल्मा छन्त्याल उपविजेता भइन्।

राष्ट्रिय माविकी सञ्जिता बिक तेस्रो भइन्।

दुवैतर्फ विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले जानकारी दिएका छन्।

विजयी टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि शिक्षा निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका आचार्य, पोखरा–१ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बरुणविक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङ, शिक्षक–अभिभावक संघ अध्यक्ष रमेश पौडेल, विद्यालय प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटालगायतले पुरस्कार प्रदान गरे।

पोखराको पुरानो स्कुल राष्ट्रिय माविले हीरक महोत्सवको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो।

विद्यालयले वर्षभरि विविधि कार्यक्रम गरी हीरक महोत्सव मनाउँदैछ।