पोखरामा मंगलबारदेखि १७ औं संस्करणको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्ट्स मीट सुरु भएको छ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले (हिसान) कास्कीको आयोजनामा सुरु स्पोर्ट्स मिटको औपचारिक रुपमा उद्घाटन गरे।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताए।
स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने उनको भनाई छ।
विद्यालयहरु खेलकुद विकासको आधारस्तम्भ रहेको उनले बताए।
‘दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुद विकासको विकल्प छैन’, उनले जोड दिए।
यसैबीच प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ रुपैयाँका साथमा सम्मानपत्रले सम्मान गरे।
प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत् नगद ५ हजार प्रदान गरे।
हिसान कास्कीद्वारा सम्मानीत राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले गण्डकी प्रदेशप्रमखसहित हिसान कास्कीप्रति आभार व्यक्त गरिन्।
‘युवा खेलाडीहरुले शिक्षासँगै खेलकुदमा लाग्नूस’, शाहीको आग्रह थियो।
कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताए।
‘राज्यले खेलकुदमा लगानी बढाउने तर्फ ध्यान दिएको छैन’, सिलवालको जिकिर थियो।
स्पोर्ट्स मिटका संयोजक यामबहादुर रोक्काले स्पोर्ट्स मिट महोत्सवको रुपमा अघि बढेको उल्लेख गरे।