कास्कीको १७ औं हिसान स्पोर्ट्स मिटमा प्रतिभा मावि च्याम्पियन

प्रतिभा लगातार तेस्रो पटक हिसान स्पोर्ट्स मिटको च्याम्पियन बनेको हो

जनसम्मत
मंसिर १४, २०८१, शुक्रबार

प्रतिभा उच्चमावि १७ औं हिसान कास्की स्पोर्ट्स मिटको च्याम्पियन बनेको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको यस संस्करणको हिसान स्पोर्ट्स मिटमा प्रतिभा च्याम्पियन बनेको हो।

स्पोर्ट्स मिटमा समावेश ४ खेलमा नै प्रतिभाको गतिलो प्रदर्शन रह्यो।

प्रतिभा ३१ अंकसहित च्याम्पियन बनेको हो।

प्रतिभाले छात्र÷छात्रा दुबैतर्फको बास्केटबलमा विजेता बन्दै ७÷७ गरी १४ अंक बटुल्यो।

त्यसैगरी, छात्रतर्फ भलिबलमा पनि विजेता बन्दै ७ अंक जोड्यो।

ब्याटमिन्टन छात्रतर्फ उपविजेता बन्दै ५ अंक थप्यो।

त्यस्तै, टेबल टेनिस छात्रतर्फ ५ अंक बटुल्यो।

हिसान कास्की स्पोर्ट्स मिटको इतिहासमा प्रतिभाले प्राप्त यो नतिजा हालसम्मकै सर्वाधिक अंक हो।

१५ औं र १६ औं हिसान स्पोर्ट्स मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रो पटक च्याम्पियन हुँदै हिसान स्पोर्ट्स मिटको ट्रफीमा समेत कब्जा जमाएको छ।

त्यसअघि, ग्लोबल कलेजियट, न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएको थियो।

विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, प्रतियोगिताका संयोजक यामबहादुर रोक्का, हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कँडेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।

१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न ४ खेलको छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा गरेको थियो।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएको थियो।