अफवाह फैलाउने १० युट्युव च्यानलसहितका माध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ।
अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै काउन्सिलले ती युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई (सोमबार) कारवाही गरेको हो।
तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी संचालित छन्।
मिडियाअन्तरगत दर्ता/सूचीकरण नभई संचालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचारसमेत गरेको छ।
काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन प्रकृयालाई अगाडि बढाएको छ।
सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामाग्रीमाथि अनुगमन भइरहेको सह–प्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ।
गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिई प्रकाशन/प्रसारण गर्ने युट्युबमाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाएर कारबाही प्रक्रिया अघि बढाएको छ।
यही मंसिर ४ गते यस्तै खालका ९ युट्युव च्यानल र पेजलाई काउन्सिलले कारवाही गरेको थियो।
सोमबार विना दर्ता संचालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एसोसिएसन र हट न्युज नेपाल नामक युट्युव च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको हो।
अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामाग्री हटाई, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ।
काउन्सिलको अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट आम मानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास फैलाउने, घृणा तथा द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्ति/भनाईलाई प्राथमिकताका साथ स्थान दिई सम्प्रेषित सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको उल्लेख छ।
‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ। संंविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसंचार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ’, विज्ञप्तिमा भनिएको छ।
सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्वद्ध सम्पूर्ण पक्षको काउन्सिलले गंभीर ध्यानाकर्षणसमेत गराएको छ।
प्रेसकाउन्सिलनेपाल डट जीओभी डट एनपीमा समाचार छ।