विगतका वर्षमा जस्तै यस वर्षपनि लेखनाथ महोत्सव हुने भएको छ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ मूल नाराकासाथ महोत्सव हुने भएको हो।
आउँदो पुसको १८ गतेदेखि पोखरा–लेखनाथको तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको हो।
२० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको बताए।
महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको उनले बताए।
विभिन्न जात जाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाए।
अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको वताए।
पत्रकार सम्मेलनमा संघकी महासचिव एवं महोत्सवका प्रचार–प्रसार संयोजक जानुका पराजुलीले औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने सामग्रीहरु विक्रिका लागि प्रदर्शनीहरु मुख्य आकर्षण रहने उल्लेख गरिन्।
शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा संचारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फूड फेस्टिवल, अटोमोवाइललगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामुलक संघसंस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफी, ताजा तरकारी, जैविक विविधता, दूग्धजन्य उत्पादनलगायतको विक्रि एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने बताइन्।
महोत्सवको थप आकर्षणको रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दूत गौतम बुद्धको प्रतिमा, नवप्रतिभाको खोजीअन्तर्गतः खुल्ला युगल जोडी नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिबृद्धिका लागिः महिला समुहहरुवीच हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिने पराजुलीले बताइन्।
पराजुलीका अनुसार, महोत्सवमा जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनी, महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालयस्तरीय कार्यक्रमअन्तर्गत खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रियस्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज शो (हास्यव्यङ्ग्य) कार्यक्रम, बालउद्यान, खाना महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइनेछ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।
लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समिति एवं ४७ वटा उपसमिति गठन गरिएको छ।
३३६ स्टल रहने महोत्सवमा अटो प्रदर्शनी स्टल ६, शैक्षिक/ग्रामिण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहनेछन्।
संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबारदेखि नै खुल्ला गरिएको छ।
अन्य व्यवसायीहरुका लागि मंसीर २४ गतेदेखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप २ हजार रूपैयाँ उपलव्ध गराइने आयोजकले जनाएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सह–आयोजक रहनेछ।
पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड महोत्सवको मुख्य प्रवद्र्धक रहनेछ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह–संयोजक राजेन्द्र ओझा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सीना, राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापालगायतले बोलेका थिए।
उनीहरुले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए।
अहिलेको आर्थिक संकटको अवस्थामा पनि महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने उनीहरुले सुझाव दिए।