एसीसी यु–१९ पुरुष क्रिकेटमा नेपालको पहिलो जीत

जारी पुरुष एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

एसीसी यु–१९ पुरुष एशिया कप क्रिकेटमा नेपालले पहिलो जीत निकालेको छ।

जारी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको हो।

अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेट्टायो।

नेपालका नरेन साउदले सर्वाधिक २६ रन बनाए।

कप्तान हेमन्त धामीले नटआउट २२ रन बनाए।

त्यसैगरी, अर्जुन कुमालले २१ रन बनाए ।

अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले समान ३/३ विकेट लिए।

यसअघि, युएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा अलआउट भयो।

अफगानिस्तानका फैसल खानले सर्बाधिक ५२ रन बनाए।

नेपालका उनिश ठकुरी र सन्तोष यादवले समान ३/३ विकेट लिए।
यस्तै, कप्तान हेमन्त धामी र अभिषेक तिवारीले समान २/२ विकेट लिए।

नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई हराएपनि यसअघि बंगलादेशसँगको हारसँगै एसीसी यु–१९ को एसिया कप क्रिकेटको प्रतियोगिताबाट बाहिरिसकेको थियो।

अफगानिस्तानसँगको खेल नेपालले समूह ‘बी’ बाट खेल पूरा गर्नका लागि मात्रै खेलेको थियो।

एसीसी यु–१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित बनेको थियो।

त्यसैगरी, दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

यस्तै, अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो।

एसीसी यु–१९ को यस समूह ‘बी’बाट श्रीलंका र बंगलादेशले अन्तिम ४ मा स्थान बनाएको छ।

यस समूहबाट कमजोर नेपाल र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ।

तस्बीरः क्यान